‘चपली हाइट’ सिरिजका निर्माता अर्जुन कुमार नयाँ चलचित्रको तयारीमा जुटेका छन् । आफैंले निर्देशन गर्ने भनेर उनले लकडाउनको समयमा चलचित्र ‘गोरे सार्की’ घोषणा गरेका थिए । तर, उनले तत्काल निर्देशन नगर्ने भन्दै निकेश खड्कालाई निर्देशनको जिम्मेवारी सुम्पिएका छन् । यसअघि अर्जुनले निर्माण गरेको दुई चलचित्र ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’लाई निकेशले नै निर्देशन गरेका थिए ।

‘गोरे सार्की’का लागि मुख्य भूमिकामा अभिनेता सौगात मल्ल रहने निर्माता अर्जुनले जानकारी दिए । सौगातसँग मौखिम सहमति भएपनि कागजी सम्झौता हुन बाँकी रहेको उनको भनाई छ । यसअघि ‘फाटेको जुत्ता’मा उनीहरुबीच टिमअप भएको थियो । अर्जुन, सौगात मल्ल आफ्नो मनपर्ने अभिनेता रहेको र काम गर्न पनि एकदमै सजिलो भएकाले पुनः सहकार्य गर्न लागेको बताए ।
सौगात अहिले चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त छन् । यसपछि उनले पाइपलाइनमा रहेको एक नयाँ चलचित्रका लागि समय दिएका छन् । उनले ‘गोरे सार्की’का लागि जेठपछिको समय उपलब्ध गराउनेमा निर्माता कुमार विश्वस्त छन् । चलचित्रका लागि एक जना चलेको अभिनेत्रीसँग पनि कुराकानी भइरहेको अर्जुनले जानकारी दिए । थ्रिलर जनरामा निर्माण हुने चलचित्रकोे अहिले स्क्रिप्टमा काम भइरहेको छ ।