भुवनजी र शिवजीको उमेरमा पुगेपछि म पनि बच्चा हुर्काउला : राजेश हमाल



नेपाली चलचित्रका तीन पिल्लर राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसीले सम्भवतः पहिलो पटक एकसाथ बसेर चलचित्र हेरेका छन् । बुधवार साँझ काठमाडौंको सिभिल मलमा उनीहरुले चलचित्र ‘ए मेरो हजुर ४’ हेरेका हुन् । चलचित्र हेरेर निस्किएपछि एकसाथ मिडियामा कुराकानी गर्ने क्रममा उनीहरुबीच हाँसो-ठट्टा समेत चलेको थियो । भुवन र शिवले राजेश हमालको सन्तानको चलचित्र हेर्ने इच्छा व्यक्त गर्दा हमालले आफू अझै बच्चा रहेकाले बच्चाको बच्चा हुन समय लाग्ने बताएका थिए ।

भुवन केसीले आफ्नो छोरा चलचित्रमा आइसकेको र शिवको छोराको पनि चलचित्र हेरिसकेकाले अब राजेशको छोराको चलचित्र हेर्ने इच्छा रहेको बताउँदा हमालले भनेका थिए, ‘म आफैं बच्चा छु । बच्चाको बच्चा हुन समय लाग्छ । भुवनजी र शिवजीको उमेरमा पुगेपछि म पनि बच्चा हुर्काउला नी ।’ शिव र भुवनले राजेशको छोरा चलचित्रमा आउँदा आफूहरुले सघाउने प्रतिवद्धता जनाए ।

हमालले ‘ए मेरो हजुर ४’को पनि खुलेर प्रशंसा गरे । उनले चलचित्रको कथाले आफूलाई छोएको बताए । अनमोल र सुहानाको अभिनयलाई लिएर उनले भने- ‘चलचित्र हेर्दा मान्छे चलचित्रमा डुबेपछि अभिनय त्यसै राम्रो देखिन्छ । अभिनय कस्तो छ, के छ भनेर हेर्न थाल्यो भने त्यहाँ खासै राम्रो अभिनय नदेखिन पनि सक्छ । जब तपाईं कथामा बग्न थाल्नुहुन्छ, त्यहाँ अभिनय राम्रो देखिन्छ ।’

त्यस्तै, अभिनेता शिव श्रेष्ठले आफूले अहिलेसम्म यति राम्रो चलचित्र नहेरेको दाबी गरे । ‘चलचित्र धेरै राम्रो छ । हामीले कल्पना पनि नगरेको चलचित्र बनेको छ । म नेपाली चलचित्र हेरेर त्यत्ति रोएको छैन, आज रोएँ । ‘ए मेरो हजुर ४’ हेरेपछि मलाई के लाग्यो भने अब नेपाली चलचित्रलाई कसैले पनि छुन सक्दैन । अनमोल र सुहाना दुवैको अभिनय राम्रो लाग्यो । चलचित्र साँच्चै राम्रो छ,’ उनले भने ।

भुवन केसीले भने निर्देशक झरना थापाले चलचित्रमा गरेको मेहनत पर्दामा देखिएको बताए । उनले ठूलो विदेशी चलचित्र आएपनि नेपाली दर्शकले नेपाली चलचित्रलाई नै साथ दिन्छन् भन्ने कुरा ‘ए मेरो हजुर ४’ले प्रमाणित गरेकोमा पनि खुसी व्यक्त गरे । उनले राजेश हमाल र शिव श्रेष्ठसँग कहिल्यै कुनै विषयमा विवाद नरहेको र आफूहरु सधैं साथमा रहेको पनि स्पष्टिकरण दिएका छन् ।

त्यस्तै, चलचित्र हेर्न हल पुगेका कलाकार किरण केसीले झरना थापाको निर्देशकीय क्षमताको खुलेर प्रशंसा गरे । तीन-चार ठाउँमा आफू रोएको बताउँदै उनले सुहानालाई लामो रेसको घोडाको रुपमा ब्याख्या गरेका छन् । कलाकारहरु जितु नेपालले पनि चलचित्र राम्रो बनेको र चलचित्र हेर्दा आफू रोएको बताए । कलाकारहरु शिवहरी पौडेल र पूजा शर्माले पनि चलचित्रको प्रशंसा गरेका थिए ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले साउथको ठूलो चलचित्र ‘केजीएफ २’को दबदबाबीच पनि बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनील कुमार थापा निर्मित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रवि गिरीलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu