एकसाथ चलचित्रमा काम गर्न तयार अनमोल र पूजा



अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्माको चलचित्रमा प्रवेश एकै वर्षमा भएको थियो । अनमोल पहिलो चलचित्र ‘होस्टेल’बाटै स्टार बने । पूजाले भने अभिनेत्रीको रुपमा स्थापित हुन केही समय संघर्ष गर्नुपर्यो । चलचित्र ‘प्रेमगीत’बाट उनी चम्किएकी थिइन् । अहिले दुवैले नेपाली चलचित्रमा राम्रो स्टारडम बनाएका छन् । उनीहरु आफ्नो स्टारडमले हलसम्म दर्शक तान्ने सामर्थ्य राख्छन् ।

पूजा र अनमोल पारिवारिक रुपमा पनि नजिक छन् । पूजाको अनमोलका पिता भुवन केसीसँग प्रायः भेटभाट भइहरेको हुन्छ । दर्शकको ठूलो वर्गले पूजा र अनमोललाई एकसाथ चलचित्रमा हेर्न चाहेको छ । पूजाले अनमोलका दुई प्रतिस्पर्धी नायकहरु प्रदीप खड्का र पल शाहसँग चलचित्रमा काम गरिसकेकाले अब उनको जोडी अनमोलसँग बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ ।

बुधवार साँझ चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न पुगेकी पूजाले आफूले बनाउने हरेक चलचित्रको अफर सबैभन्दा पहिला अनमोललाई गर्ने गरेको खुलासा गरिन् । उनले भनिन्, ‘अनमोलसँग काम गर्न नजुरेको होकी के हो थाहा छैन । मैले बनाउने हरेक चलचित्रको अफर पहिला अनमोल कहाँ पुग्छ । तर, विभिन्न कारणले हामीबीच सहकार्य हुन सकेको छैन । तर, हामी चाँडै चलचित्रमा काम गर्नेछौं ।’

पूजा अभिनीत चलचित्र ‘प्रेमगीत’ सबैभन्दा पहिला अनमोललाई अफर भएको थियो । उनले अस्वीकार गरेपछि चलचित्रमा प्रदीप खड्का भित्रिएका थिए । बुधवार पूजासँगको भेटमा अनमोलले ‘प्रेमगीत’ नगरेकोमा पछुतो रहेको बताए । पूजा शर्माको आफू ठूलो फ्यान रहेको र चलचित्रमा काम गर्ने इच्छा रहेको बताउँदै उनले लभस्टोरी चलचित्रमा एकसाथ काम गर्ने इच्छा व्यक्त गरे ।

पूजाले ‘ए मेरो हजुर ४’को प्रशंसामा पनि शब्द खर्चिइन् । पर्दामा अनमोल र सुहानाको लभस्टोरी हेर्दा आफूले आफ्नो प्लस टूको लभस्टोरी सम्झिएको बताउँदै उनले अनमोल र सुहानाको अभिनय मन परेको बताइन् । उनले भनिन्, ‘अनमोलले यति राम्रो काम गर्छ भनेर सोचेको थिइनँ । फिल्ममा मन छुने अभिनय गरेको छ । सुहानाको काम उस्तै राम्रो छ । मलाई चलचित्र साह्रै मन पर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu