‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ‘टुल्की’ बन्यो उत्कृष्ट चलचित्र



गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । बैशाख ५ गतेदेखि बैशाख ७ गतेसम्म आयोजना भएको महोत्सवमा चलचित्र ‘टुल्की’ले उत्कृष्ट फिचर चलचित्रको अवार्ड जितेको छ । शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशन गरेको यो चलचित्रले उत्कृष्ट स्क्रिनप्ले (शेखर लामा) को अवार्ड पनि जित्न सफल भयो ।

महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी तथा फिचर चलचित्र गरी १६ वटा चलचित्र प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा समेत अवार्ड बाँडियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र ‘फुङ’ले अवार्ड पायो ।

त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ले अवार्ड प्राप्त गर्दा सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ उत्कृष्ट बन्यो । सर्वोकृष्ट अभिनेताको अवार्ड भने ‘चिसो आत्मा’बाट प्रविन खतिवडा र उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले जितेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड ‘टिष्टा पारीको साइनो’बाट खिलबहादुर गुरुङले जिते ।

महोत्सवमा सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म ‘मौन प्रतिशोध’ले जुरी अवार्ड पनि प्राप्त गर्‍यो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट,अभिनेत्री पनाह अधिकारीलगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए । रबिन्द्र खड्का, शिवम् अधिकारी, शिव पुरी, किशोर आचार्य र लक्ष्मण सुवेदी जुरी टिममा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu