बेहुली बनिन् केकी



अभिनेत्री केकी अधिकारी बेहुली बनेकी छन् । पर्दामा धेरै पटक बेहुलीको भूमिकामा अभिनय गरिसकेकी उनी बिहीवार वास्तविक जीवनमा बेहुली बनेकी हुन् । बुधवार नै उनले विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार प्रेमी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।

उनले विवाहका तस्विरहरु सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् ।

रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् । तर, यसको सुइँको उनले मिडियालाई हुन दिएकी थिइनन् । केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । केही समय अगाडि एक अन्तर्वार्तामा केकीले विवाहपछि पनि अभिनयमा सक्रिय हुने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu