कुशल अभिनयका कारण चिनिएका अभिनेता हुन्, कर्मा । हरेक प्रकारको भूमिकामा उनी जीवन्त अभिनय गर्न सिपालु मानिन्छन् । थिएटर हुँदै चलचित्र ‘सानो संसार’बाट अभिनय करिअर सुरु गरेका उनले तीन दर्जनभन्दा बढी चलचित्रमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । उनलाई दर्शकहरुले विशेषगरी चकलेटी भूमिकामा रुचाउने गरेका छन् ।
तर, कार्म भने चकलेटी भूमिकामा अभिनय गर्नु आफ्नो स्वभाव नभएको बताउँछन् । बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘षट्कोण’को विषयमा जानकारी दिन बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘जति पनि चलचित्रमा मैले चकलेटी भूमिका गरेँ, त्यो मेरो स्वभाव वा छवि होइन । मलाई काम गर्न मन पर्ने विषयवस्तु भनेको ‘षट्कोण’ जस्तो हो ।’

आफूलाई अहिले पनि मेकरहरुले लभस्टोरी चलचित्रबाट अफर गर्ने गरेको भएपनि अब आफूलाई एकै खालको लभस्टोरीमा काम गर्न मन लाग्न छाडेको कार्मको भनाई छ । उनी अगाडि भन्छन्, ‘लभस्टोरी गर्दै नगर्ने चाहिँ होइन तर, केही फरक गर्न चाहन्छु । केटी पाउनका लागि परिवार र समाजसँग भिड्नु पर्ने कथा लभस्टोरीमा बासी भइसक्यो । नयाँ लभस्टोरीबाट प्रस्ताव आए गर्छु ।’
उनले आफ्नो नामको अर्थ ‘तारा’ (स्टार) रहेको पनि खुलाए । तर, नामको अर्थ ‘स्टार’ भएपनि आफू ‘स्टार’ बन्न चलचित्रमा नआएको उनको कथन छ । ‘म स्टार बन्न चलचित्रमा आएकै होइन । मलाई स्टार बन्नु पनि छैन । मलाई कलाकारिता गर्नु छ,’ उनी भन्छन्, ‘कलाकार भएपछि शोअप गर्नुपर्छ भन्ने पनि कहिल्यै लागेन । थिएटरबाट आएका मान्छेहरु प्रायः यस्तै स्वभावका हुन्छन् होला ।’