यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । बिहीवार केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र हेरेपछि सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएको हो । हिमाली प्रेमकथामा निर्माण भएको चलचित्रलाई सेन्सरका पदाधिकारीहरुले पनि मन पराएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पमा छायांकन भएको चलचित्रमा सौगात मल्ल, दीया पुन, बुद्दि तामाङ, नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा शीर्ष भूमिकामा छन् ।

परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ । चलचित्रले दर्शकलाई फरक प्रेमकथाको आभास दिलाउने निर्देशक गुरुङको दाबी छ । उनी चलचित्रलाई अर्गानिक भन्न रुचाउँछन् ।