राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको हो । प्राप्त जानकारी अनुसार, राप्रपाबाट कलाकार श्रेष्ठले टिकट पाउने लगभग पक्का छ ।

मदनदास राप्रपाका सक्रिय नेता भने होइनन् । उनी राप्रपाले विभिन्न समयमा आयोजना गर्ने चियापान लगायतका कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । कलाकारितालाई पनि सम्मान गर्ने तथा पार्टीको दायरा फराकिलो बनाउन कलाकार श्रेष्ठलाई मेयरमा उठाउन लागेको राप्रपाको महानगर समितिले जानकारी दिएको छ ।
लामो समय रेडियो नाटकमा काम गरेका मदनदास श्रेष्ठले ‘तीन घुम्ती’, ‘तिमी विना’, ‘बसन्ती’, ‘नायक’, ‘संकल्प’, ‘मन कामना’, ‘परिवार’, ‘कन्यादान’, ‘के घर के डेरा’, ‘तिलहरी’, ‘नैना रेशम’, ‘मस्ती’, लगायतका कयौं चलचित्रमा अभिनय पनि गरेका छन् । पछिल्लो समय अभिनयमा खासै सक्रिय नदेखिएका श्रेष्ठ २०७३ सालमा राप्रपा प्रवेश गरेका थिए ।