चलचित्र ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । अभिनेत्री पन्तसँग निर्माण टिमले शुक्रबार चलचित्रको मुख्य भुमिकामा लिखित सम्झौता गरेको हो । चलचित्रमा सुरक्षाको प्रवेशसँगै कलाकारको लाइनअप पूरा भएको छ । चलचित्रमा यसअघि दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।

चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । उनले सुरक्षालाई चौथो पटक निर्देशन गर्न लागेका हुन् । यसअघि उनीहरुबीच चलचित्र ‘धनपति’, ‘चंगाचेट’ र ‘आमा’मा सहकार्य भएको थियो । त्यस्तै, सुरक्षाले दयाहाङसँग ‘भैरे’, विपिन र वर्षासँग ‘गोपी’मा काम गरेकी थिइन् । हालै चलचित्र ‘आमा’बाट राष्ट्रिय चलचित्र पुरस्कार जितेकी उनी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । दीर्घ गुरुङले खिच्ने चलचित्रको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । बैशाख २२ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई जिजिए ग्रुपले वितरणको जिम्मा लिएको छ ।