‘म यस्तो गीत गाउँछु २’को विदेशमा प्रदर्शन हुने, नेपसिनेले लियो अधिकार



काठमाडौं। नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्र वितरण गर्दै आएको कम्पनी नेपसिनेले यसको नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा प्रदर्शन अधिकार किनेको हो । क्यानडामा नेपसिनेले एश्लिसा इन्टरटेन्मेन्टसँगको सहकार्यमा प्रदर्शन गर्नेछ ।

सोमबार नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग चलचित्रका निर्माताद्वय सुदर्शन थापा र पूजा शर्माले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । मे महिनाबाट यो चलचित्रको विदेश प्रदर्शन यात्रा शुरु हुने नेपसिनेका कार्कीले बताए । नेपालमा गत फागुन १३ गते रिलीज भएको यो चलचित्रले व्यापारिक सफलता हासिल गरेको थियो । चलचित्रलाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र चलचित्रको निर्माण टिमसँग सम्पर्क गर्न सकिने कार्कीको भनाई छ ।

सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा चलचित्रका निर्देशक हुन् । कोरोना महामारीपछि रिलीज चलचित्रमा पहिलो सफल बनेको यो चलचित्रलाई नेपालमा जस्तै नेपाल बाहिर रहेका नेपाली दर्शकले पनि मन पराउने विश्वास नायिका तथा निर्माता पूजा शर्माले गरिन् । यस्तै, चलचित्रका निर्देशक सुदर्शन थापाले भने अभिनेता पल शाहको वर्तमान वास्तविक घटनासँग केहि कथा मिल्न गएकाले पनि दर्शकका लागि यो कथा सरप्राइज जस्तै भएको बताए । विदेशमा रहने नेपालीहरुले पनि चलचित्रलाई मन पराउने बिश्वास रहेको उनले बताए ।

जन्म जय साम्पाङ राई सह निर्माता रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu