अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा भारतका चर्चित कलाकारको प्रवेश भएको छ । बलिउड र साउथ चलचित्रमा भिलेनको भूमिकामा सर्वाधिक रुचाएका प्रदीप सिंह रावतले चलचित्रमा अभिनय गर्न लागेका हुन् । सोमवार सामाजिक सञ्जालमार्फत् नीताले चलचित्रमा प्रदीपराजलाई अनुबन्ध गरिएको जानकारी गराइन् ।

प्रदीपराजले बलिउड चलचित्र ‘गजनी’मा गरेको अभिनयको अझै पनि चर्चा हुन्छ । उनले नीतासँग भोजपुरी चलचित्र ‘माही’मा एकसाथ काम गरेका थिए । यही चलचित्रबाट उनीहरुबीच राम्रो चिनजान भएको थियो । नीताले स्क्रिप्ट लेखनदेखि नै प्रदीप सिंहलाई सोचिएको बताएकी छन् । चलचित्रमा रावतलाई सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीताको भनाई छ ।
नेपाल र भारतमा छायांकन हुने ‘ह्रस्व दीर्घ’लाई नेपाली र हिन्दी भाषामा तयार गरिने जानकारी प्राप्त छ । चन्द्र पन्तले निर्देशन गर्ने चलचित्रको आउँदो असारदेखि छायांकन सुरु हुनेछ । नीता र हरिहरको मुख्य भूमिका रहने चलचित्रमा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भइसकेका छन् । बलिउडका चर्चित छायांकार कविर लालले खिच्ने चलचित्रको यूरोपमा पनि छायांकन हुनेछ ।