‘कबड्डी ४’ ट्रेलरमा दयाहाङ र मिरुनाको प्रेम, सौगात बाधक



जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट २८ सेकेन्डको ट्रेलर कमेडीले भरिएको छ । अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर विरक्तिएका काजी (दयाहाङ राई) सँग शहरबाट गाउँको एक स्कूलमा पढाउन आएकी मिस शान्ति (मिरुना मगर) नजिक बनेपछि आउने उतार-चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

मिरुना शिक्षिका बनेर आएपछि डिग्रीधारी बमकाजी (सौगात मल्ल) पनि घोडा चढेर गाउँ छिर्छन् । जुन स्कूलमा मिरुना शिक्षिका हुन्छिन् त्यही स्कूलमा शिक्षकको रुपमा सौगातको पनि प्रवेश हुन्छ । दयाहाङ भने सोही स्कूलको हेडमास्टर छन् । मिरुनासँग नजिक बन्न सौगातले गरेको संघर्ष, दयाहाङसँग नोकझोंक, झाँक्री (उपेन्द्र सुब्बा) को आगमनले ट्रेलरलाई दमदार बनाएको छ ।

‘कबड्डी ४’लाई ‘कबड्डी’ सिरिजको अन्तिम श्रृंखला भनिएको छ । यसैले यसपटक काजी (दयाहाङ राई) को बिहे हुने ट्रेलरमा झाँक्रीले बोल्ने संवादले प्रस्ट्याउँछ । झाँक्रीले काजीको जोखाना हेर्दै भनेका छन्, ‘जसरी हेर्दा पनि यो साल त तिम्रो बिहे मात्र देखाउँछ त हो काजी । यो पटक त बेहुला भागेर हिँडे पनि बिहे हुन्छ ।’ रामबाबु गुरुङले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रमा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । चलचित्रलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् । यो चलचित्रको ‘केशरी’ गीत अहिले चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu