‘मन्त्र’ प्रिमियर : लोकेशनले लोभ्यायो चलचित्रकर्मीलाई



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन्त्र’को प्रिमियर गरिएको छ । बुधबार साँझ राजधानीको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिति थियो । प्रिमियरमा दीपकराज गिरी, दीपाश्री निरौला, निश्चल बस्नेत, विपिन कार्की, नरेश पौड्याल, युवराज चौलागाईँ, निराजन प्रधान लगायत उपस्थित थिए ।

‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराज गिरीले चलचित्रको लोकेशनले सबैभन्दा बढी लोभ्याउने बताए । ‘चलचित्र जुन ठाउँमा छायांकन गरिएको छ, त्यो छायांकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । चलचित्रमा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं,’ दीपकराजले भने, ‘चलचित्रमा ब्याकग्राउन्ड स्कोर सबैभन्दा बुलन्द छ ।’

अभिनेत्री दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ उनले ‘मन्त्र’ हेरुन्जेल कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिइन् । चलचित्रको कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको उनको भनाई छ ।

प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले चलचित्र रमाइलो लागेको बताए । उनले कुनै भेगको आफ्नै कथालाई चलचित्रमा रमाइलो तरिकाले प्रस्तुत गरिएको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै सिनेमा आरामसँग हेर्न सकियो,’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरु चलचित्रमा आईरहेको छ । यसरी नै चलचित्रहरु बन्दै जानुपर्छ जस्तो लाग्छ ।’

निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँलगायतले चलचित्र मनपरेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायांकनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भइनन् । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि. गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu