माधवराज खरेलले निर्देशन गरेको चलचित्र ‘चिट्ठी’को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन गत वर्ष नै सकिनु पर्ने थियो । तर, सुटिङको क्रममा नायक सञ्जित भण्डारी घाइते भएपछि चलचित्रको छायांकन रोकिएको थियो । उनी निको भएपछि बैशाख पहिलो साताबाट चलचित्रको बाँकी छायांकन सुरु गरिएको थियो । बुधवारबाट चलचित्रको छायांकन सकिएको हो ।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सञ्जित भण्डारीका साथै खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसे, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठीलगायतको अभिनय छ ।
जीवन पराजुलीको छायांकन रहेको चलचित्रलाई काठमाडौं, काभ्रे, ललितपुर लगायतका जिल्लामा खिचिएको हो । निर्देशक खरेलले ‘चिठ्ठी’मा उठाइएको विषयवस्तु दर्शकलाई फरक लाग्ने दाबी गरेका छन् । कमेडी जनरामा निर्माण भएको चलचित्रमा सस्पेन्स र थ्रिलर पनि मिश्रण गरिएको उनको भनाई छ । सुटिङ प्याकअप भए लगत्तै चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ ।

चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइँको संगीत, डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द, शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र बसन्त अर्यालको स्वर रहेको छ । निर्देशक खरेलको लेखन रहेको चलचित्रमा कमला जोशीको लगानी छ । पोस्ट प्रोडक्सनको काम सकेर २०२२ भित्रै चलचित्रलाई प्रदर्शन गरिने निर्देशक खरेलले जानकारी दिए ।