थिएटरमा जत्ति मैले चलचित्रमा मेहेनत गरेको छैन : कार्म



रंगमञ्चको भूमि टेकेर चलचित्रमा आएका अभिनेता कार्म शाक्य आफूलाई चलचित्रमा भन्दा नाटकमा काम गर्न मनपर्ने बताउँछन् । हालै एक भेटमा उनले भने, ‘तीन वर्षपछि मैले हालै ‘उलार’ नाटक हेरेको थिएँ । नाटक हेरेर निस्कने बेला मैले निहालेर मञ्चतर्फ हेरेँ । त्यसबेला मलाई चुम्बकले तानेको झैं भान भयो । मैले किन नाटकमा काम गरिरहेको छैन भन्ने प्रश्न मनमा उठ्यो ।’

नाटकप्रति आफ्नो बेग्लै लगाव रहेको र नाटकबाट टाढा बस्ने कुराको आफूले कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । ‘कतै चलचित्रको छायांकन भइरहेको छ भने मलाई हेर्न पनि मन लाग्दैन । चलचित्रको छायांकनले मलाई तान्दै तान्दैन,’ उनी अगाडि भन्छन्, ‘तर, कहिँ नाटक भइरहेको छ भने म हेर्छु । सायद थिएटरबाट आएका सबैलाई नाटकप्रति यो अट्याचमेन्ट हुन्छ होला ।’

उनी थिएटरमा जत्ति आफूले चलचित्रमा मेहेनत नगरेको पनि स्वीकार गर्छन् । चलचित्रमा चित्तबुझ्दो काम गर्न सकिएन भन्ने कुरा आफूलाई सधैं लाग्ने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘नाटक र चलचित्रमा हामीले गर्ने अभिनय नै हो । तर, थिएटरमा नाटक गर्नुअघि रिहर्सलमा बसेर क्यारेक्टरलाई निचोड्न जसरी मेहेनत गर्छौं, त्यो चाहिँ मैले अहिलेसम्म चलचित्रमा भेटाएको छैन ।’

रंगमञ्चको दाँजोमा चलचित्रमा रिहर्सल नहुने गरेको उनको बुझाई छ । ‘म सधैं मेकरलाई भन्ने गर्छु कि थिएटरमा म महिनौं रिहर्सलमा मेहेनत गर्न सक्छु भने नाटकभन्दा सयौं गुण कमाई हुने चलचित्रमा किन मेहेनत गर्न सक्दिनँ ? मलाई प्रयोग गर्नुस् भनेर बारम्बर भन्ने गर्छु । म दिनरात खटिन तयार छु भन्दा पनि वास्था गरिन्न । हामीले थिएटरमा जत्ति मेहेनत चलचित्रमा गरेका नै छैनौं,’ उनी सुनिए ।

कार्म अभिनीत नयाँ चलचित्र ‘षट्कोण’ यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । पछिल्लो समय फरक धारका चलचित्रमा काम गर्दै आएका उनी आफूलाई ‘षट्कोण’ जस्तो चलचित्रमा काम गर्न मन लाग्ने बताउँछन् । यो चलचित्रमा उनी एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् । चलचित्रमा निर्वाह गरेको भूमिकालाई लिएर उनी उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu