भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्काले लगाए कांग्रेसको टीका



नेपाली चलचित्रका तीन कलाकारहरु भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता पत्र प्रदान गरे । उनीहरुलाई कलाकार नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन पहल गरेको बुझिएको छ ।

भुवन र रविन्द्र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा भुवन केसीले एमालेबाट काठमाडौं १ बाट प्रत्यक्षतर्फ टिकट समेत पाएका थिए । तर, पार्टीमा कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भन्दै नेता तथा कार्यकर्ताले विरोध जनाएपछि पार्टीले २४ घन्टामै उनलाई दिएको टिकट खोस्यो । त्यसपछि उनको एमालेसँग ३६ को आँकडा थियो ।

पछिल्लो समय उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । उनले केही चरण राप्रपा अध्यक्षसँग छलफल समेत गरेका थिए । तर, भुवनले आउँदो संसदीय निर्वाचनमा समानुपातिक सांसद् बनाउनु पर्ने माग राखेपछि वार्ता भाँडिएको थियो । यसपछि उनी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उठ्ने तयारीमा थिए । तर, पछि उनले उम्मेदवारी नदिने घोषणा गरे ।

त्यस्तै, पुराना अभिनेता रविन्द्र खड्का पुर्खौली हुन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । तर, पार्टीले उनको उम्मेदवारी घोषणालाई हलुका रुपमा लिएपछि उनले एमाले छाडेर कांग्रेस रोजेका हुन् । उनी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् ।

श्वेतासँगै उनका श्रीमान् विजयन्द्र सिंह रावत पनि कांग्रेसमा प्रवेश गरेका हुन् । श्वेताले अब कलाकारितासँगै राजनीतिमा पनि अगाडि बढ्ने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएकी छन् । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकारलाई पार्टीले उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै कलाकारहरु विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu