अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाले अभिनय करिअरको सुरुवात घरको चलचित्र ‘ए मेरो हजुर ३’बाट गरेकी हुन् । यो चलचित्रपछि उनलाई बाहिरी ब्यानरका चलचित्रहरुबाट पनि अफर आएका थिए । तर, उनले दोस्रो चलचित्र पनि घरकै गर्ने निर्णय गरिन् । उनी अभिनीत दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ ।

‘ए मेरो हजुर ४’ प्रदर्शनमा आइसकेपछि उनले बाहिरी ब्यानरको चलचित्रमा काम गर्ने इच्छा देखाएकी थिइन् । तर, तेस्रो पटक पनि उनी घरकै चलचित्र देखिने भएकी छन् । झरना थापाले अब चलचित्र ‘भागवद गीता’ बनाउँदैछिन् । यसमा सुहानाको मुख्य भूमिका रहने भएको छ । मंगलवार धार्मिकस्थल जनकपुरधाममा चलचित्रको अनाउन्समेन्ट टिजरको छायांकन भइरहेको छ ।
चलचित्रका लागि नायकको पनि टुंगो लागिसकेको छ । तर, टिजरमा सुहाना मात्र प्रस्तुत हुनेछिन् । नायकको नाम केही समयपछि सार्वजनिक गर्ने योजनामा निर्माण टिम छ । टिजरमार्फत् चलचित्रको घोषणासँगै प्रदर्शन मिति सार्वजनिक गरिनेछ । आउँदो साउन दोस्रो हप्ताबाट छायांकन सुरु हुने चलचित्रको टिजर यसै हप्ता सुहानाको जन्मदिनमा सार्वजनिक हुनेछ ।