मंगलवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका र माला ग्रहण गर्दै कांग्रेसमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले एउटा कलाकार कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनुहुन्न र कलाकारले कलाकारिता नै गर्नुपर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप आफूले राजनीतिक यात्रा सुरु गरेको बताएकी छन् ।
नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै श्वेताले फेसबुकमा लेखेकी छन्, ‘यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्वःसंवाद, स्वःविश्लेशण र स्वःविचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै व्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । अतः राजनीतिको यो अक्षुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ ।’

राजनीतिलाई कमाई खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न आफू राजनीतिमा आएको उनको भनाई छ । उनले अगाडि लेखेकी छन्, ‘सँधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेताहरुप्रति धारे हात लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो निष्क्रिय प्रवित्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम परिवर्तनको लागि सिस्टम निर्माणकै हिस्सा हुनु पर्छ । यसको लागि राजनीति उत्तम माध्यम हो । मैले यही माध्यमलाई आत्मसाथ गरेकी हुँ ।’
कुनै व्यक्तिगत स्वार्थ नराखी स्वच्छ रुपमा सामाजिक विकास र विशुद्ध सेवाको भाव बोकेर आफूलाई नेपाली कांग्रेसको असल कार्यकर्ता भएर चिनाउन प्रयास गर्ने उनको वाचा छ । आफू एउटा कलाकार र व्यवसायी पनि भएको नाताले नेपाली कांग्रेसभित्र रहेर तमाम व्यवसायीहरु र कलाकर्मीहरुको हक-हितको निमित्त सधैं आवाज बुलन्द गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।