२०७९ सालका लागि ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल’को घोषणा गरिएको छ । विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको हो । राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा हुन लागेको प्रतियोगितामा उचाइ र तौलको मापदण्ड राखिएको छैन भने समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् ।

‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२’को चाहने युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्नेछन् । दर्ता अवधि मे ५ देखि दुई महिना सम्मको लागि खुला रहने आयोजक संस्था उमङ्ग क्रिएशन प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यो दुई महिने अवधिमा उमङ्ग क्रिएशनले नेपालभर सक्रिय रूपमा विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ ।
मिस युनिभर्स नेपाल २०२२ को विजेताले मिस युनिभर्सको ७१ औँ संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । उनलाई ताज वर्तमान मिस युनिभर्स नेपाल सुजिता बस्नेतले पहिराउने छिन् । उक्त ताज आयोजकको साझेदार बालाजी डायमन्डले बनाएको हो । यस वर्ष साबिकको १० लाख नगद पुरस्कारको अतिरिक्त, मिस युनिभर्स नेपाल २०२२ को विजेताले विद्युतीय परिवहन (इमोबिलिटी) साझेदार न्यू (एनआइयू) नेपालको तर्फबाट विद्युतीय स्कुटर समेत प्राप्त गर्नेछिन्।