भदौ ३ मा आउने भयो ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’सँग भिडन्त



कोरोना महामारीभन्दा अगाडि एकै मितिमा एकभन्दा बढी चलचित्र भिड्नु सामान्य थियो । वर्षमै सयभन्दा बढी चलचित्र निर्माण हुने भएकाले कुनै न कुनै मितिमा नेपाली चलचित्र भिडेकै हुन्थे । कोरोना महामारीको समयमा यो अवस्था रहेन । तर, संक्रमण सामान्य भएर हलमा नियमित रुपमा चलचित्रहरु प्रदर्शनमा आउन थालेसँगै भिडन्तको श्रृंखला पनि बढ्न थालेको छ ।

यही शुक्रवार दुई नेपाली चलचित्र ‘षट्कोण’ र ‘लक्का जवान’ एकसाथ रिलिज भए । आउँदो भदौ ३ गते पनि दुई नेपाली चलचित्र बक्सअफिसमा भिड्ने भएका छन् । दीपक ओली निर्देशित चलचित्र ‘कृष्ण लीला’ले कृष्ण अष्टमीलाई लक्षित गर्दै सबैभन्दा पहिला उक्त मिति लक गरेको थियो । अब यो मितिमा रञ्जित रौनियारको निर्देशनमा बनेको चलचित्र ‘माइकल अधिकारी’ पनि प्रदर्शन हुने भएको छ ।

यो चलचित्रलाई यसअघि २०७६ सालको चैत २८ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा रिलिज स्थगन भयो । वितरक करण श्रेष्ठले भदौ ३ मा ‘माइकल अधिकारी’ रिलिज हुने पक्का भएको जानकारी दिए । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मस्ले वितरण गर्नेछन् ।

‘माइकल अधिकारी’मा रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । भाडाको कोख सम्बन्धि विषय उठान गरिएको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । त्यस्तै, ‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । लभस्टोरी कथामा निर्माण भएको यो चलचित्रको ‘कुनै दिन त्यो कथामा’ बोलको गीत हिट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu