शिल्पा भन्छिन्, ‘चलचित्रमा क्यारेक्टरले राख्ने महत्त्व ठूलो कुरा हो’



चलचित्र ‘द ब्रेकअप’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पा मास्केले त्यसयता कागजपत्र’, ‘सानो मन’ र ‘कठपुतली’ चलचित्रमा अभिनय गरिसकेकी छन् । कुशल अभिनय गर्ने अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी उनको नयाँ चलचित्र ‘लाइफ इन एलए’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा शिल्पा चलचित्रको प्रचारमा दौडिरहेकी छन् ।

तीनवटा नेपाली चलचित्रमा सोलो अभिनेत्रीको रुपमा अभिनय गरेकी शिल्पाले अचेल सानोतिनो भूमिकामा पनि काम गर्दै आएकी छन् । गत पुषमा रिलिज भएको चलचित्र ‘कठपुतली’मा उनी ४६ सेकेण्ड मात्र देखिएकी थिइन् । ‘लाइफ इन एलए’मा पनि उनको रोल खासै लामो छैन । ७० प्रतिशत अमेरिकामा खिचिएको चलचित्रको ३० प्रतिशत हिस्सामा मात्र उनी देखिनेछिन् ।

उनी आफ्नो लागि चलचित्रमा भूमिका सानो-ठूलोले अर्थ नराख्ने बताउँछिन् । उनी भन्छिन्, ‘चलचित्रमा त्यो क्यारेक्टरले कति महत्त्व राख्छ भन्ने महत्त्वपूर्ण कुरा हो । संसारमा ठूला स्टारहरुले पनि सानो रोलमा काम गरेका छन् । म ‘कठपुतली’मा ४६ सेकेण्डमा देखिँदा पनि दर्शकले रुचाउनुभयो । ‘लाइफ इन एलए’मा मेरो भूमिका सानो भएपनि आफ्नोतर्फबाट सकेको मेहेनत गरेको छु ।’

यद्यपि, चलचित्रमा रोल सानो-ठूलो जे भए पनि त्यसले कलाकारको करिअरमा अर्थ भने राख्ने उनको भनाई छ । ‘सानो रोल भए पनि ‘लाइफ इन एलए’ मेरो करिअरको एउटा हिस्सा थियो भनेर आउँछ नै । मैले आजसम्म जति पनि क्यारेक्टर गरेँ, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत दिएको छु भन्ने लाग्छ । ‘लाइफ इन एलए’मा पनि मेरो क्यारेक्टर दर्शकलाई भिन्न लाग्न सक्छ,’ उनले भनिन् ।

चलचित्रमा शिल्पासँगै ब्यास बिस्सु, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu