विदेश राइट्सबाटै ‘कबड्डी ४’को लगानी सुरक्षित



नेपालको सबैभन्दा सफल चलचित्रको सिरिजमध्ये एक हो, ‘कबड्डी’ । यसका तीनवटै सिरिजले घरेलु बक्सअफिसमा लगानीको दोब्बर-तेब्बर बढी कमाई गरेको रेकर्ड छ । नेपालमा मात्र नभइ विदेशका विभिन्न देशमा पनि ‘कबड्डी’का तीनटै सिरिजले ठूलो कमाई गरेका थिए । अब यसको चौथौं सिरिज आगामी जेठ १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

ट्रेलर र ‘केशरी’ बोलको गीतले चलचित्रको नेपाल र विदेशमा जबर्जस्त हाइप बनेको छ । त्यसमाथि यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले दर्शकहरु चलचित्र हेर्नका लागि औंला भाँचेर बसेका छन् । यसपटक काजी (दयाहाङ राई) को बिहे हुन्छ कि हुँदैन भन्ने कुराले पनि प्रतिक्षीत बनेको यस चलचित्रले नेपालमा २०७८ यताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने धेरैको विश्लेषण छ ।

‘कबड्डी ४’ नेपालसँगै विदेशीमा पनि प्रदर्शनका लागि तयारीमा अवस्थामा छ । बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, हङकङ, जापान, क्यानडालगायतका देशमा चलचित्रको राइट्स विक्री भइसकेको छ । जसबाट निर्माताको हातमा २ करोड परेको छ । नेपाल प्रदर्शन अगावै लगानी सुरक्षित गरेको चलचित्रको डिजिटल राइट्स पनि महंगोमा विक्री भइसकेको जानकारी प्राप्त छ ।

कोरोना महामारीका कारण ‘कबड्डी’को तेस्रो सिरिजको विदेश प्रदर्शन चौपट भएको थियो । तर, चौथौ सिरिजले निर्मातालाई मालामाल बनाएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङका अलावा सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu