राजेश हमाललाई ‘महानायक’ भन्दै ‘सत्यम्’को गीत रिलिज



निर्माण घोषणा भएको एक वर्षभन्दा बढी भइसके पनि छायांकनमा जान नसकेको चलचित्र ‘सत्यम्’ अब नबन्ने चर्चा चलिरहेको छ । यही चर्चालाई चिर्न निर्माण टिमले मंगलवार चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो गीत सार्वजनिक गरेको छ । गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ ।

गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा राजेश हमाललाई ‘महानायक’को रुपमा सम्बोधन गरिएको छ भने उनको स्केच तस्विर र संवादलाई पनि स्थान दिइएको छ । चलचित्रमा हमाल टाइटल क्यारेक्टरमा प्रस्तुत हुनेछन् । चार वर्षपछि पर्दामा फर्किन लागेका उनी यो चलचित्रमा एक्सन अवतारमा प्रस्तुत हुने बताइएको छ ।

चलचित्रका मुख्य अभिनेता पल शाह एक घटनामा मुछिएपछि छायांकनमा निस्कन ढिलाइ भएको निर्माता रेशम सापकोटाले बताए । उनले पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए । उनले बजारमा चलेको हल्लाअनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको उनको भनाई छ ।

उनले भने, ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौं भन्ने महशुस भयो र सोही कारण शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं । चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’

निर्माता सापकोटाले गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पुर्ण जानकारी गराउने समेत बताए । उनले भने- ‘प्रि-प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केहि सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’ चलचित्रमा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरीको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu