अनमोलले छाडेको ‘हनी बनी’मा भारतीय मोडलको प्रवेश



बेलायतमा निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यु तोमर लिड नायकमा अनुबन्ध भएका छन् । अभिनेता अनमोल केसीले चलचित्रबाट हात झिकेपछि नायकको खोजीमा रहेको निर्माण टिमले अभिमन्युलाई छनोट गरेको हो । चलचित्रमा उनले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत निकै चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनको ‘हनी बनी’ पहिलो फिचर चलचित्र हुनेछ ।

निर्देशक दीवाकर भट्टराईले कथाअनुसार चरित्रमा सुहाउने भएकाले अभिमन्युलाई ‘हनी बनी’मा अनुबन्ध गरेको जानकारी दिए । यो चलचित्रमा पहिला अभिनेत्री सारा सिरपालीले पनि अभिनय गर्ने पक्का थियो । तर, उनको बेलायतको भिसा नझरेपछि बेलायतमै रहेकी जसितालाई निर्माण टिमले अनुबन्ध गरेको हो ।

अभिमन्युको बेलायतको भिसा लागिसकेको र उनी केही दिनमा छायांकनका लागि आउने निर्देशक भट्टराईले जानकारी दिए । चलचित्रमा सलोन बस्नेतको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu