मास्टरशेफ सन्तोष शाहको जीवनीमा चलचित्र बनाउँदै दीपक



नेपालका मास्टरशेफ सन्तोष शाहको जीवनीमा चलचित्र निर्माण हुने भएको छ । सन् २०२१ मा बेलायतमा भएको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’को उपविजेता बनेपछि संसारको ध्यान खिचेका उनको जीवनमाथि निर्देशक दीपक रौनियारले चलचित्र बनाउन लागेका हुन् । अहिले रौनियारले मास्टरशेफ शाहसँग उनको बाल्यकालदेखि शेफ हुँदासम्मको यात्राबारे संवाद गरिरहेका छन् ।

रौनियारले चलचित्र निर्माण हुने निश्चित भएपनि छायांकन केही समय पछाडि सुरु हुने जानकारी दिएका छन् । शाहले जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुने भएकाले चलचित्र बनाउन लागेको उनले बताए । मास्टरशेफ शाहसँगको संवाद सकिएपछि स्क्रिप्ट लेखनको काम थाल्ने दीपकको तयारी छ । अहिले सन्तोष घुमफिरका लागि नेपालमा छन् ।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष भाँडा माझ्ने काम गरेका थिए । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत हानिएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा कार्यरत छन् । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका मास्टरशेफ शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ ।

निर्देशक दीपक रौनियारले आफ्नो पाइपलाइनमा रहेको चलचित्र ‘द स्काइ इज माइन’को छायांकन पूरा गरेपछि सन्तोष शाहको जीवनीमा चलचित्र बनाउनेछन् । चलचित्रको नाम स्क्रिप्ट लेखन सकिएपछि राखिने जानकारी प्राप्त छ । मास्टरशेफ सन्तोष आफ्नो जीवनीमा चलचित्र बन्न लागेको कुराले खुशी देखिएका छन् । निर्देशक रौनियारले यसअघि चलचित्र ‘सेतो सूर्य’ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu