पार्टीले टिकट दिए संघीय चुनावमा प्रत्यक्षतर्फ उठ्छु : रेखा थापा



अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले शुक्रवार देशभर भइरहेको स्थानीय तहको निर्वाचनमा चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट आफ्नो पार्टीका उम्मेदवारलाई भोट हालेकी छन् । मतदानपछि सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै उनले पार्टीले प्रत्यक्षतर्फ टिकट दिए आफू संघीय चुनावमा काठमाडौं क्षेत्र नं. ४ बाट उठ्ने बताइन् ।

अभिनेत्री थापाले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा म पार्टीका उम्मेदवारलाई जिताउनका लागि आमसभादेखि घरदैलोमा हिँडेँ । संघीय चुनावमा भने म कुनै न कुनै भूमिकामा देखिन सक्छु । पार्टीले के निर्णय गर्छ त्यसमा पनि भर पर्छ । पार्टीले प्रत्यक्षबाट लड भन्यो भने मेरो काठमाडौं क्षेत्र नं। ४ पर्छ र म तयार छु । अरु प्रतिनिधिलाई सघाउन पार्टीले आग्रह गर्‍यो भने पनि म तयार हुन्छु ।’

उनले मतदानको दिन मात्र जनतालाई मालिक बन्न दिइने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएकी छन् । ‘जनतालाई मतदानको दिन मात्र मालिक हुन दिइन्छ । त्यसपछि जनतालाई अर्कै व्यवहार गरिन्छ । निर्वाचनपछि जनप्रतिनिधिलाई टर्च बालेर खोज्नुपर्छ । यसपटक यो अवस्था परिवर्तन हुन्छ,’ उनले अगाडि भनिन्, ‘नेतालाई तह लगाउने हो भने जनताले उनीहरुको मतपेटिका खाली गर्दिनु पर्छ ।’ देश विकासका लागि स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu