‘लाइफ इन एलए’को कथासँग मेरो जीवनको कथा मिल्छ : ब्यास बिस्सु



जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाइफ इन एलए’बाट नेपाली चलचित्र क्षेत्रले एक नयाँ अनुहार पाएको छ, ब्यास बिस्सु । डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका उनले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गरेका हुन् । यो चलचित्रका उनी निर्माता पनि हुन् । पेशाले इन्जिनियर रहेका उनले अमेरिकामा चलचित्रको प्रदर्शनदेखि विभिन्न इभेन्टहरु पनि गर्दै आएका छन् ।

‘लाइफ इन एलए’बाट चलचित्र निर्माण र अभिनयमा पाइला राखेका उनी यो चलचित्र आफूले इन्डस्ट्री बझ्नका लागि बनाएको बताउँछन् । निर्माता ब्यास भन्छन्, ‘यो चलचित्र चल्नु इन्डस्ट्रीका लागि पनि राम्रो कुरा हुन्छ । यो चलचित्र चल्यो भने हामीलाई अरु चलचित्र बनाउन पनि हौसला मिल्छ । हामी इन्डस्ट्रीमा नयाँ हौं । इन्डस्ट्री बुझ्नका लागि पनि मैले यो चलचित्र बनाएको हुँ ।’

‘लाइफ इन एलए’ले अमेरिकाको कथा उठान गरेकाले नेपालभन्दा पहिला अमेरिकाको विभिन्न राज्यमा चलचित्रको प्रदर्शन गरिएको उनले जानकारी दिए । चलचित्रले अमेरिकामा बस्ने ९९ प्रतिशत नेपालीको वास्तविक कथालाई भनेको उनको भनाई छ । चलचित्रको कथा आफ्नो जीवनसँग पनि मिल्ने ब्यास बिस्सु बताउँछन् । चलचित्रले अमेरिका कस्तो छ भनेर गहिराइमा देखाएको उनले बताए ।

‘म अमेरिका ब्याचलर पढ्न गएको थिएँ । विद्यार्थीबाट अमेरिका बसाई सुरु भएपछि कम्पनीमा काम पाइन्छ । कम्पनीले एचओभी नगरेपछि कि नेपाल फर्किनु पर्छ नभए कलेज ज्वाइन गर्नुपर्छ । त्यसपछि ग्रिनकार्डको दौडधुप सुरु हुन्छ । अमेरिका गएपछि कति नेपाली वर्षौं नेपाल आउन पाउँदैनन् । उनीहरु किन नेपाल आउन सक्दैनन् त ? चलचित्रमा यसलाई पनि देखाएका छौं,’ उनले भने ।

अमेरिकामा भएको प्रदर्शनमा चलचित्रले राम्रो प्रतिक्रिया पाएकाले अब आफू नेपालमा दर्शकको प्रतिक्रिया जान्न आतुर रहेको ब्यास बताउँछन् । ‘अमेरिकाका विभिन्न राज्यमा हामीले चलचित्रको शो गर्‍यौं । सबै शोमा उल्लेख्य मात्र नेपालीहरु उपस्थित हुनुभएको थियो,’ उनले अगाडि भने, ‘अमेरिकाबाट चलचित्रको ८० प्रतिशत लगानी उठिसकेको छ । नेपालमा पनि राम्रो हुनेमा विश्वस्त छु ।’

सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा ब्यासका अलावा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu