बल्ल ‘कबड्डी ४’को प्रचारमा दयाहाङ



कोरोना महामारी सामान्य भएर नियमित रुपमा चलचित्रको छायांकन हुन थालेपछि अभिनेता दयाहाङ राईको व्यस्तता ह्वात्तै बढेको छ । गत वर्षको कात्तिकमा चलचित्र ‘कबड्डी ४’को छायांकन सकाएपछि उनले अन्य दुई चलचित्र ‘गाउँ जाने बाटो’ र ‘२ नम्बरी’को पनि छायांकन भ्याइसकेका छन् । अब यही जेठ पहिलो साताबाट उनी चलचित्र ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुँदैछन् ।

यो चलचित्र छायांकनमा जानुअघि दयाहाङले जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ४’को प्रचारका लागि समय निकालेका छन् । आइतवार उनी चलचित्रकी अभिनेत्री मिरुना मगर, विजय बरालको साथमा ६ गतेसम्मका लागि देश दौडाहामा निस्किएका छन् । काठमाडौं फर्किएपछि उनले ‘के घर के डेरा’को छायांकन र ‘कबड्डी ४’को प्रचार एकसाथ गर्ने बताइएको छ ।

दयाहाङ मात्र होइन ‘कबड्डी ४’का अर्का मुख्य अभिनेता सौगात मल्ल पनि उस्तै व्यस्त छन् । हालै चलचित्र ‘२ नम्बरी’को छायांकन सकेर काठमाडौं फर्किएका उनको पाइपलाइनमा अझै तीनवटा चलचित्र रहेको जानकारी प्राप्त छ । दुवै नायक व्यस्त हुँदा ‘कबड्डी ४’को प्रचार कछुवाको गतिमा भइरहेको छ । जसको असर बक्सअफिसमा देखिन सक्ने कतिपयको विश्लेषण छ ।

जेठ २ गते दमकबाट सुरु हुने चलचित्रको प्रचार अभियान ३ गते इटहरी, ४ गते नारायणघाट, ५ गते बुटवल र ६ गते पोखरा पुगेर सकिनेछ । मोफसल यात्रामा चलचित्रका कलाकारहरुले पत्रकार सम्मेलनसँँगै दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने बताइएको छ । रामबाबु गुरुङले निर्देशनमा तयार भएको चलचित्रमा बुद्धि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारीलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu