नेपाली चलचित्रका पुराना निर्देशक निर्देशक हेम बहादुर लामाको निधन भएको छ । दुई हप्तादेखि काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो १ः१५ मा निधन भएको हो । सोमवार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका राखिने र सोही दिन बौद्ध धर्मअनुसार स्वयम्भु घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

लामाले आफ्नो जीवनकालमा एउटा मात्र चलचित्रको निर्देशक गरे, त्यो हो ‘आदर्श नारी’ । यो चलचित्रले थुप्रै कलाकार जन्मायो । अभिनेता विजय लामाले यही चलचित्रबाट डेब्यु गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, संगीतकार मदन परियारले यही चलचित्रबाट ब्रेक पाएका थिए । चलचित्रमा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो ।
२०७७ सालमा चलचित्र निर्देशक समाजले लामालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानीत गरेको थियो । निर्देशक लामा विमान चालक तथा अभिनेता विजय लामाका पिता हुन् । कलाकार लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’