विश्वज्योति हल शुक्रवारबाट सञ्चालनमा आउने, महजोडीले गरे उद्घाटन



आगामी शुक्रवारबाट जमलस्थित नेपालको पुरानो विश्वज्योति हल नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भएको छ । उक्त मल्टीप्लेक्स हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । पुरानो हल भएको आडमै खडा भएको पाँच तले विश्वज्योति मलको माथिल्लो तल्लमा दुई अडिटोरियमको विश्वज्योति सिनेमाज् खुलेको हो ।

कुनै बेला विश्वज्योति हलले निर्मातालाई सर्वाधिक शेयर दिने गर्थ्यो । थुप्रै नेपाली चलचित्रले विश्वज्योतिमा कीर्तिमान राखेका छन् । चलचित्र ‘चिनो’ यो हलमा ३२ हप्तासम्म चलेको थियो भने ‘दर्पणछायाँ’ र ‘ठुल्दाइ’ले आफ्नो पूरा लगानी यो एउटै हलबाट उठाएका थिए । यो हलमा सय दिनको रेकर्ड राख्ने चलचित्रको सूची लामो छ । विश्वज्योति हल २०१३ सालमा स्थापना भएको हो ।

अत्याधुनिक सेवा सुविधासहित खोलिएको हलको एउटा अडिटोरियममा २०१ र अर्को अडिटोरियममा ८९ सिट संख्या रहेको विश्वज्योतिका अध्यक्ष मोहन सरार्फले बताए । शुक्रवारबाट ‘लक्का जवान’, ‘डक्टर स्ट्रेन्ज २’ लगायतका चलचित्र प्रदर्शन गर्दै हल औपचारिक रुपमा खुल्नेछ । कोरोना महामारीयता काठमाडौंसहित विभिन्न ठाउँमा ठूलो लगानीमा मल्टीप्लेक्स हलहरु खुल्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu