एक समय टेलिभिजनमा जमेकी भिजे हुन्, अकेशा विष्ट । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कल कान्तिपुर’ले उनलाई दर्शकमाझ चिनाउन ठूलो मद्दत गरेको थियो । टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दैगर्दा उनलाई म्यूजिक भिडियोको अफर पनि ओइरिन थाल्यो । उनले म्यूजिक भिडियोमा पनि आफूलाई दर्विलो रुपमा उभ्याइन् । यसपछि उनले चलचित्रमा फड्को मारिन् ।
सन् २०१५ मा रिलिज भएको ‘जिन्दगी रक्स’ उनी अभिनीत पहिलो चलचित्र हो । तर, डेब्यू चलचित्रले उनलाई हिटको सुख दिन सकेन । न त उनको अभिनयको नै प्रशंसा भयो । यसपछि उनले अभिनयलाई निरन्तरता दिने आँट गरिनन् र नेपालमा कमाएको नामलाई तिलाञ्जली दिएर सपनाको देश अमेरिकाको उडान भरिन् । अमेरिका भाँसिएपछि चलचित्रसँग उनको दूरै झनै बढ्यो ।

अब भने अकेशा फेरि आफ्नै दुनियाँमा रमाउन चाहन्छिन् । यसैले ६ वर्षपछि उनले चलचित्र ‘लाइफ इन एलए’बाट अभिनयमा कमब्याक गरेकी छन्, जुन चलचित्र जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रका लागि उनी सोमवार अमेरिकाबाट नेपाल आएकी छन् । लामो समयपछि चलचित्रमा फर्किएकाले आफूलाई खुसी, डर र नर्भस महशुस भइरहेको उनी बताउँछिन् ।
अब अमेरिकामा बसेरै भए पनि अभिनयलाई निरन्तरता दिने उनको सोच छ । एक भेटमा उनले भनिन्, ‘मेरो पहिलो चलचित्र रिलिजपछि देशमा भूकम्प गयो । त्यसपछि चलचित्र सम्बन्धि काम खासै भएनन् । त्यसलगत्तै म अमेरिका गएँ । उता गएपछि पढाई र कामले गर्दा चलचित्रमा समय दिन सकिएन । अब राम्रो भूमिकाबाट प्रस्ताव आयो भने अभिनयलाई निरन्तरता दिने सोचमा छु ।’
आफू अमेरिकामा बस्न थाले पनि मनबाट नेपाली चलचित्र कहिल्यै टाढा हुन नसकेको उनको भनाई छ । ‘म अमेरिका बस्न थाले पनि नेपाली चलचित्र सधैं मेरो मनमा थियो । बीच-बीचमा केही चलचित्रबाट अफर पनि आएको थियो तर व्यस्तताका कारण काम गर्न पाएको थिइनँ । ‘लाइफ इन एलए’बाट प्रस्ताव आउँदा म फुर्सद नै थिएँ । स्क्रिप्ट र भूमिका मन परेपछि काम गरेँ,’ उनले भनिन् ।
सूर्य एन श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । नेपाल प्रदर्शनअघि चलचित्रको अमेरिकाको विभिन्न ठाउँमा प्रिमियर भएको थियो, जहाँ अकेशाको अभिनयलाई दर्शकहरु रुचाएका थिए । नेपालमा पनि आफ्नो कामको प्रशंसा हुनेमा उनी विश्वस्त छिन् ।


