साइकल चलाएर लण्डनदेखि पेरिससम्मको यात्रा गर्दै विक्रम



अभिनेता तथा निर्माता विक्रम डि जोशीले २४० माइल (करीब ३८७ किमी) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका उनले धुलिखेलमा रहेको हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई सहयोग रकम जुटाउन उनले साइकल यात्रा गर्न लागेका हुन् ।

अभिनेता जोशीले ६ जना नेपालीहरुको साथमा आगामी शुक्रबार (२० मे) बाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन् । साइकल यात्राको टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ रहेका छन् । उनीहरुले शुक्रबार लण्डन ब्रिजबाट साइकल यात्रा थालनी गरेर तीन दिन (२२ मे) मा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् ।

‘म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत् लण्डनबाट पेरिस पुग्ने हाम्रो प्लान छ,’ जोशी भन्छन्, ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास पहिलोपटक हुँदैछ । मैले यो यात्राका लागि तीन साताअघिदेखि तयारी गरेको हुँ । तर, मेरा अन्य साथीहरुले चार वर्षअघिदेखि योजना बनाएका थिए । यात्राका लागि मैले विगत तीन सातायता दैनिक चार-पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’

यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरु स्वयम्ले व्यहोर्ने अभिनेता जोशीले जानकारी दिए । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन् । उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने यात्राबाट कम्तीमा ५ हजार पाउन्ड (करीब पौने ८ लाख) संकलन हुने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu