युवापुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । बुधवार बसेको छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको पुरस्कार गायिका अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै उनले लेखेकी छन्, ‘छिन्नलता प्रतिभा पुरस्कारमार्फत् सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भएँ । नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत संगीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ ।’
नेपाली आइडलको दोस्रो सिजनबाट संगीतको दुनियाँमा चम्किएकी अस्मिता अहिलेकी सर्वाधिक व्यस्त र सफल गायिका पर्छिन् । उनका एकपछि अर्को गीतले बजार पिटेका छन् । ‘टाढा भए पनि, साली मन पर्यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, हिरोनी, काफल कमला, रमरम मरौटी’ लगायत उनका दर्जनौं गीत चर्चित छन् ।