प्रिमियरमा ‘लाइफ इन एलए’को प्रशंसा



जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाइफ इन एलए’ले प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको छ । बुधवार साँझ राजधानीको लबिम मलमा भएको प्रिमियरमा कलाकारदेखि खेलाडीसम्मले कथावस्तुको प्रशंसामा शब्द खर्चिए । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अमेरिकाको लाइफस्टाइल कस्तो हुन्छ भनेर चलचित्रले गहिराइमा देखाएकोमा खुशी व्यक्त गरिन् ।

उनले भनिन्, ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौं । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । चलचित्रमा यी सबै कुरालाई देखाइएको छ । अमेरिका नगए पनि चलचित्रबाट धेरै बुझ्न पाइन्छ ।’ त्यस्तै, पूर्वडीआईजी रमेश खरेलले निर्माता ब्यास बिस्सुले आफ्नो लाइफसँग जोडेर चलचित्र बनाएकाले कति दृश्यमा आफू इमोसनल भएको बताए ।

निर्देशक प्रकाश सायमीले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अमेरिकामा बनेको चलचित्र भएकाले यसले एउटा फरक भ्यालु राख्छ । अमेरिकामा बस्ने नेपालीको कथालाई चलचित्रमा बुनिएको छ । समाज, आर्थिक विकास, नेपालीले पुर्‍याएको योगदान र अमेरिका जान चाहनेहरुलाई चलचित्रले सुझाव दिन्छ । यो चलचित्रबाट नेपाली मेकरले पनि नयाँ कुरा सिक्न पाउँछन् ।’

निर्माता अर्जुन कुमारले पनि चलचित्र आफूलाई मन परेको बताए । नयाँ सोचसहित चलचित्र बनाएको देख्दा खुशी लागेको बताउँदै हेरिरहेको चलचित्रभन्दा फरक लाग्ने उनको भनाई छ । त्यस्तै, फुटबल खेलाडी विराज महर्जन र भरत खवासले चलचित्रमा वास्तविक कथालाई प्रस्तुत गरिएकाले मन छोएको बताए । उनीहरुले निर्माता बिस्सुले नेपाललाई पुर्‍याएको योगदानको पनि प्रशंसा गरे ।

प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेपछि खुशी देखिएका निर्माता तथा अभिनेता बिस्सु दर्शकलाई पनि चलचित्र मन पर्नेमा आशावादी छन् । ‘चलचित्रले मानिसलाई धेरै कुराको ज्ञान दिन्छ । सबैले अमेरिका कस्तो छ भनेर सोच्छन्, चलचित्रले त्यो देखाएको छ । मैले पनि अमेरिका जाँदा कति दुःख पाएको थिएँ, त्यो चलचित्रमा देख्न सकिन्छ । चलचित्रले दर्शकको राम्रो साथ पाउनेमा ढुक्क छु,’ उनले भने ।

विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा ब्यासका अलावा शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu