कान्सको रेड कार्पेटमा सुरक्षाको ‘वाक’



कान्स फिल्म फेस्टिभललाई संसारका चलचित्रकर्मीहरुको ठूलो उत्सव मानिन्छ । यो फेस्टिभलमा संसारका प्रख्यात निर्देशकदेखि चलचित्रका स्टारसम्म सहभागी हुने गरेका छन् । सन् २०१७ मा अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएकी थिइन् । तर, उनले अरु विदेशी सेलिब्रेटीले झैं कान्सको रेड कार्पेटमा हिँड्न पाएकी थिइनन् ।

अभिनेत्री सुरक्षा पन्तले भने कान्सको रेड कार्पेटमा ‘वाक’ गर्ने अवसर पाएकी छन् । आफू अभिनीत इटाली र बेल्जियम भाषाको चलचित्र ‘द एइट् माउन्टेन्स’को प्रिमियरमा सहभागी हुने क्रममा उनी बुधवार कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी हुन् । चलचित्रका निर्देशक र विदेशी कलाकारसँग एकसाथ रेड कार्पेटमा हिँडेकी उनले रातो रंगको आकर्षक गाउन लगाएकी थिइन् ।

‘द एइट् माउन्टेन्स’ कान्समा प्रिमियरका लागि छनोट भएपछि सुरक्षा जेठ ३ गते फ्रान्स उडेकी थिइन् । यो उनले अभिनय गरेको पहिलो विदेशी चलचित्र हो । इटालीसँगै नेपालको मनाङमा छायांकन भएको चलचित्रको नेपालको पार्टमा सुरक्षाले अभिनय गरेकी छन् । जेठ ५ गते कान्समा प्रिमियर भएको यो चलचित्रलाई फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्सले निर्देशन गरेका हुन् ।

कान्सको रेड कार्पेटमा अहिलेसम्म नेपाली चलचित्रका कुनै अभिनेत्री हिँड्न नपाएकाले सुरक्षा पहिलो अभिनेत्री बनेकी छन् । उनले रेड कार्पेटमा हिँड्दाको अनुभव सामाजिक सञ्जालमा साटेकी छन्, ‘रेड कार्पेटमा हिँड्नु एक वास्तविक पल जस्तै थियो । चलचित्र र कथाकारहरुको सबैभन्दा ठूलो माहोललाई देख्न पाएको अवसर म जीवनभर संगालेर राख्नेछु ।’ चलचित्र ‘के घर के डेरा’को छायांकन भइरहेकाले उनी केही दिनमै नेपाल फर्किनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu