जजको कुर्सीमा बस्नु पनि सानोतिनो अभिनय हो : दीलिप रायमाझी



एक समय नेपाली चलचित्रका विकाउ अभिनेता हुन्, दीलिप रायमाझी । चलचित्र ‘दर्पण छायाँ’ को ऐतिहासिक सफलतापछि उनी नेपालीमेकरको पहिलो रोजाइ बनेका थिए । त्यसबेला हलसम्म दर्शकको भीड तान्न उनको नाम नै काफी मानिन्थ्यो । अभिनय र नृत्यमा आफूलाई अब्बल सावित गरेका उनले आफ्नो करिअरमा कयौं सम्झनलायक चलचित्र दिएका छन् ।

कुनै बेला उनी अभिनेता राजेश हमालभन्दा पनि व्यस्त र महंगा मानिन्थे । एक दिनमै उनी ३-४ वटासम्म चलचित्रको छायांकन गर्न भ्याउँथे भने महिनामै आधा दर्जन बढी चलचित्र हलमा रिलिज हुन्थे । तर, अचेल दीलिपको चलचित्रमा उत्ति साह्रो माग छैन । यद्यपि, उनी फुर्सदिला पनि छैनन् । नृत्यको निपूर्णताले देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको राम्रो माग छ ।

पछिल्लो समय नेपालमा फस्टाइरहेको डान्स रियालिटी शोमा पनि उनलाई भ्याइनभ्याइ छ । ‘बुगी उगी’, ‘डान्सिङ स्टार नेपाल’, ‘मेरो डान्स कप’ जस्ता डान्स रियालिटी शोमा उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । केही वर्षयता आफूले डान्स रियालिटी शोको निर्णायक बन्ने अवसर पाउनुलाई उनी करिअरको एउटा कालखण्डमा चलचित्रमा गरेको कामको ब्याज मान्छन् ।

हालै एक कार्यक्रममा दीलिपले भने, ‘मैले संसारको धेरै रियालिटी शोमा निर्णायक हुने मौका पाएको छु । यसलाई म मेरो ठूलो सौभाग्य मान्छु । मैले आफ्नो करिअरमा चलचित्रमा गरेको कामको ब्याज यतिबेला डान्स रियालिटी शोको जज भएर खान पाइरहेको छु भन्ने लाग्छ र जीवनभर यसरी नै ब्याज खान पाइरहुँ ।’ जजको कुर्सीमा बस्नु पनि सानोतिनो अभिनय रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu