अभिनेत्री सुहाना थापालाई अब आमा झरना थापाको नामबाट चिनाइरहन आवश्यक छैन । बरु, झरना छोरीका कारण चिनिने अवस्था आएको छ । सुहानाले दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’बाट आफूलाई अब्बल अभिनय गर्ने अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । चलचित्रमा आउनुअघि उनी अमेरिकामा बसेर अध्ययन गर्दै आएकी थिइन् ।

पहिलो चलचित्रमा उनको अभिनयको दर्शकदेखि समीक्षकसम्मले प्रशंसा गरे । चलचित्र पनि सफल भयो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’ बैशाख १ गते प्रदर्शनमा आएको थियो । यो चलचित्रले पनि उनलाई सफलताको सुःखसँँगै अभिनयको प्रशंसा गुथायो । चलचित्र सफल भएसँगै उनी गत साता माता र पिताको साथमा अमेरिका उडेकी थिइन् ।
शनिवार उनले लामो समय अमेरिका बसेर अध्ययनमा गरेको मेहेनतको प्रतिफल पाएकी छन् । आफू अध्ययनरत जोर्ज मेसन यूनिभर्सिटीबाट उनी दीक्षित भएकी छन् । उनले मनोविज्ञान विषयमा ग्रयाजुएसन पूरा गरेकी हुन् । एकातिर ‘ए मेरो हजुर ४’को सफलता अनि अर्कोतिर ग्रयाजुएसन पूरा हुँदा सुहानाका लागि दुवै हातमा लड्डू झैं भएको छ ।

अब सुहाना अमेरिकाको विभिन्न राज्यमा हुने ‘ए मेरो हजुर ४’को प्रिमियरमा सहभागी हुनेछिन् । उनी अमेरिकाबाट असारमा मात्र नेपाल आउने जानकारी प्राप्त छ । नेपाल आएपछि उनले साउन दोस्रो साताबाट घरको नयाँ चलचित्र ‘भागवद् गीता’मा अभिनय गर्नेछिन् । उनी अमेरिका उड्नुअघि यो चलचित्रको जनकपुरधाममा टिजरको छायांकन गरिएको थियो ।