‘प्रेम गीत ३’को रिलीज मिति घोषणा



निर्माण अगावैदेखि स्टार कास्टका कारण चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै असोज ७ गते (घटस्थापना) लाई चलचित्रको प्रदर्शन मिति तोकेको हो । यसअघि २०७६ सालको चैत २८ गते र २०७८ सालको फागुन १३ गते गरी दुई पटक चलचित्रको प्रदर्शन मिति घोषणा गरिए पनि कोरोनाका कारण प्रदर्शन स्थगन भएको थियो ।

अहिलेसम्म असोज ७ गतेको मिति अरु नेपाली चलचित्रले रोजेका छैनन् । तर, यसपालीको दशैंमा दीपकराज गिरी र दीपाश्री निरौला समुहको चलचित्र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आउने सम्भावना प्रवल छ । ‘प्रेमगीत ३’मा ठूलो लगानी भएका कारण निर्माण टिमले दशैंको विदा रोजेको हो । अरु बेलाभन्दा दशैंमा चलचित्र प्रदर्शन गर्दा लगानी उठाउन सजिलो हुने विश्वास निर्माताहरुमा व्याप्त छ ।

निर्माता तथा निर्देशक सन्तोस सेनले शोसल मीडियामार्फत आगामी दशैंमा चलचित्र रिलीज गरिने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘समय सँगको धैर्यता, टीमको अजम्बरी काम प्रतिको मेहनत प्रतिफल हजुरहरु माझ यो वडा दशैंमा पोख्ने निधो गरेका छौं । हजुरहरु सबैको सकारात्मक साथ र सपोर्टको अपेक्षा राखेका छौं ।’

कोरोना महामारीका कारण चलचित्रको नेपालमा प्रदर्शन असम्भव भएपछि निर्माण टिमले भारतमा पनि प्रदर्शन गर्ने योजना बनाउँदै ‘प्रेमगीत ३’लाई हिन्दी भाषामा डब गरेको थियो । यो चलचित्रको हिन्दी प्रदर्शन अधिकार विक्री भइसकेको छ । बुझिए अनुसार, असोज ७ गते नेपाल र भारत दुवै देशमा चलचित्र एकसाथ प्रदर्शनमा आउनेछ ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu