‘कबड्डी’ ब्रान्डको चौथो सिरिज ‘कबड्डी ४ : द फाइनल म्याच’को एड्भान्स बुकिङ खुल्ला भएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सोमवार दिउँसोबाट मल्टीप्लेक्सहरुमा बुकिङ खोलिएको हो । नेपाली चलचित्रको सोमबारबाटै बुकिङ खुल्ला भएको यो पहिलो पटक हो । मल्टीप्लेक्सहरुले एड्भान्स बुकिङमै चलचित्रलाई उल्लेख्य शो प्रदान गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनले देशभरका ११ वटा स्टेशनमा चलचित्रलाई ८३ शो दिएको छ । सम्भवतः क्यूएफएक्स चेनमा नेपाली चलचित्रले एड्भान्स बुकिङमा पाएको यो सर्वाधिक शो हो । बिहीवार साँझसम्म चलचित्रको शोमा थप वृद्धि हुन सक्ने देखिन्छ । वान सिनेमाज्, बिग मुभिज, एफक्यूब सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि चलचित्रले उल्लेख्य शो पाएको छ ।

बुकिङ खुल्ला भएसँगै चलचित्रको अनलाइनबाट ठूलो मात्रामा टिकट ‘बुक’ भएको छ । वितरक गोविन्द शाहीले विभिन्न मल्टीप्लेक्सहरुमा भएको बुकिङको स्क्रिन सट फेसबुकमा पोस्ट गर्दै चलचित्रको रेकर्ड ब्रेक बुकिङ भएको उल्लेख गरेका छन् । बलियो स्टार कास्ट, ट्रेलर र ‘केशरी’ गीतले बढाएको हाइप र ब्रान्ड चलचित्रको सिरिज भएकाले चलचित्रको ओपनिङ बम्पर हुने सम्भावना प्रवल छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।