मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंको एक पाँचतारे होटलमा आयोजित एक कार्यक्रमका बीच सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’ चिनाउँदै चलचित्रको निर्माण घोषणा गरिएको हो । लभस्टोरी कथामा निर्माण हुने चलचित्रमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ ।

जेठ अन्तिमबाट छायांकन सुरु हुने चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, ध्रुव दत्त, राजकुमार शाह, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाहले अतिथी भूमिकामा अभिनय गर्दैछिन् । रोमानियाबाट छायांकन सुरु हुने चलचित्रलाई इटली, फ्रान्स र नेपालमा पनि खिचिनेछ ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा आवाज रहनेछ ।

कार्यक्रममा निर्देशक चाम्सले आफूले यसअघि निर्देशन गरेका चलचित्रभन्दा ‘वर एन्ड वधु’ फरक हुने दाबी गरे । विगत चार वर्ष अगाडिदेखि आँचल शर्मासँग चलचित्रमा सहकार्य गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुशी व्यक्त गरे । त्यस्तै, आँचलले चलचित्रमा दर्शकहरुले आफूलाई अलग रुपमा देख्न पाउने बताइन् । चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।