‘कबड्डी ४’को टिकट बुकिङ आक्रामक



यस वर्षको प्रतिक्षीत चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा छ । बलियो स्टार कास्ट, ट्रेलर र ‘केशरी’ गीतले बढाएको हाइप, ब्रान्ड चलचित्रको सिरिज भएकाले काठमाडौंसहितका मल्टीप्लेक्सहरुले प्रदर्शनको ५ दिन अगावैदेखि अग्रिम बुकिङ खुलाएका थिए । मल्टीप्लेक्सहरुले चलचित्रलाई अग्रिम बुकिङमै ठूलो शो बाँडेका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र मोफसलका ११ वटा स्टेशनमा चलचित्रलाई ९८ शो दिएको छ भने केही शो सोल्डआउट नै भइसकेका छन् । क्यूएफएक्स अन्तर्गतको लबिम मलमा शुक्रवार विहान ८ बजेको शो सोल्डआउट भएको छ । त्यस्तै, विर्तामोडको वान् स्टप हलको साढे ११ बजेको शो र साँझ ८ बजेको शो पनि सोल्डआउट भइसकेको छ ।

क्यूएफएक्सको अन्य हलहरुमा चलचित्रको टिकट बुकिङ आक्रामक देखिएको छ । क्यूएफएक्स चेनबाटै चलचित्रले प्रदर्शनको पहिलो दिन ३० लाखमाथि कमाउने सम्भावना देखिन्छ । काठमाडौंका बिग मुभिज, वान् सिनेमाज्, एफक्यूब सिनेमाज्, क्यूज सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि चलचित्रको टिकट आक्रामक रुपमा बुकिङ भइरहेको जानकारी प्राप्त छ ।

चलचित्रको एड्भान्स बुकिङमा देखिएको क्रेजलाई हेर्ने हो भने ‘कबड्डी ४’को ओपनिङ विजनेश नेपाली चलचित्रको अहिलेसम्मकै सबैभन्दा ठूलो हुने देखिन्छ । चलचित्रले पहिलो दिन दुई करोड नजिकको व्यापार गर्ने आँकलन गरिएको छ । पहिलो विकेन्डमा चलचित्रले ६ करोड पार गर्न सक्नेछ । चलचित्रलाई हलमा लामो रेसको घोडा बन्न भने बलियो वर्ड अफ माउथको आवश्यकता पर्नेछ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । नेपालसँगै यो चलचित्र विदेशका विभिन्न ठाउँमा पनि शुक्रवारबाटै प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu