म पनि काजीको बिहे होस् भन्ने चाहन्छु : सौगात मल्ल



अभिनेता सौगात मल्लले लामो समयपछि हिटको सुख प्राप्त गर्दैछन् । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ४’को एड्भान्स बुकिङ हेर्दा चलचित्रले बक्सअफिसमा आँधी ल्याउने देखिन्छ । चलचित्रले ठूलो ओपनिङ गर्ने भएपछि सौगात पनि उत्साहित देखिएका छन् । एकपछि अर्को चलचित्र असफल भइरहेको अवस्थामा उनलाई यो चलचित्रले ठूलो राहत दिने देखिन्छ ।

ट्रेलरमा सौगातलाई काजी उर्फ दयाहाङ राईको प्रेममा तगारो बनेको देखाइएको छ । दोस्रो सिरिजमा मैयाँलाई भगाएका उनले यसपटक पनि काजीको बिहे हुन नदिने आँकलन ट्रेलरबाट गर्न सकिन्छ । तर, ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले काजीको बिहे हुने आश पनि गरिएको छ । सौगात पनि काजीको तड्पाई हेर्दा यसपटक बिहे होस् भन्ने आफूले पनि चाहेको बताउँछन् ।

बिहीवार एक कार्यक्रममा उनले भने- ‘दर्शक भएर हेर्दा काजीको तड्पाईंले मलाई पनि छट्पटि हुन्छ । काजीको पीडा देख्दा दया लाग्छ । म पनि चाहन्छु कि अब चाहिँ काजीको बिहे होस् । काजीको बिहे भयो भने दर्शकहरु जस्तै म पनि खुशी हुनेछु । ‘कबड्डी ४’मा काजीको बिहे हुन्छ कि हुँदैन त्यो चाहिँ मैले बिर्सिसकेँ । म पनि काजीको बिहे हुन्छ कि हुँदैन भनेर हेर्न एकदमै आतुर छु ।’

उनले काजीको बिहे भएपछि आफूले पनि बिहे गर्ने बताए । अभिनेत्री सृष्टि श्रेष्ठसँँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले ठट्यौली शैलीमा भने- ‘पर्दामा काजीको बिहे हुन सकेको छैन । जहिल्यै अर्कैले केटी भगाइदिन्छ । यसपटक चाहिँ काजीको बिहे भयो भने म पनि बिहे गर्छु ।’ उनले ‘कबड्डी ४’को व्यापारले आफ्नो करिअरमा ठूलो अर्थ राख्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu