म्यूजिक भिडियोकी चर्चित मोडल गरिमा शर्माले चलचित्रमा डेब्यू गर्ने भएकी छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘लण्डन टु पेरिस’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । केही समयअघि नै निर्माण टिम र गरिमाबीच लिखित सम्झौता भएको थियो । गरिमाले यो चलचित्रले आफूलाई चलचित्र क्षेत्रमा दरिलो रुपमा उभ्याउने विश्वास व्यक्त गरेकी छन् ।
आधुनिक प्रेमकथामा निर्माण हुने चलचित्र यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भइसकेकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार, चलचित्रको मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् । चाँडै एक फर्स्टलुक पोस्टरसहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्रको केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । असारको दोस्रो साताबाट चलचित्र फ्लोरमा जानेछ ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको चलचित्रका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही कम्पनीको चलचित्र ‘हनी बनी’ अहिले बेलायतमा छायांकन भइरहेको छ ।