रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनमा आएको छ । शुक्रवारबाट देशभरका झन्डै २ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्रले बिहानैदेखि हाउसफुल व्यापार गरिरहेको जानकारी प्राप्त छ । काठमाडौंका मल्टीप्लेक्सहरुमा चलचित्रले पाएको प्रायः शो प्रदर्शन अगावै एड्भान्स बुकिङमा हाउसफुल भइसकेका थिए ।
‘कबड्डी ४’ले तीन वर्षयताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने निश्चित छ । मल्टीप्लेक्सहरुमा पाएको भरमार शो र आक्रामक बुकिङ हेर्दा चलचित्रले पहिलो दिन नै २ करोडको आँकडा छुने अनुमान गरिएको छ । शनिवार सार्वजनिक विदा भएकाले दोस्रो दिन चलचित्रले बक्सअफिसमा थप उछाल ल्याउने देखिन्छ । चलचित्रले तीन दिनमा ६ करोडमाथिको कमाई गर्ने वितरकको विश्वास छ ।

प्रदर्शनको अघिल्लो दिन बिहीवार काठमाडौंको बिग मुभिजमा भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया बटुलेको थियो । तीनवटै हल बुक गरेर आयोजना गरिएको प्रिमियरमा उपस्थित भएका चलचित्रकर्मी, राजनीतिज्ञ, व्यापार सबैले चलचित्रको प्रशंसामा शब्द खर्चिएका थिए । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजीको बिहेको रस्साकस्सीमै चलचित्र घुमेको छ ।
‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । यो चलचित्रले ‘छक्का पञ्जा’ सिरिजको रेकर्ड तोड्ने सम्भावना प्रवल छ ।