सौगातलाई लिएर ‘मास्टर बमकाजी’ बन्ने



‘कबड्डी’ सिरिजले प्रदर्शन अगावै सफलताको ग्यारेन्टी गर्छ । यसका अघिल्ला तीन सिरिजले आक्रामक कमाई गरेका थिए । शुक्रवारबाट यसको चौंथो श्रृंखला प्रदर्शनमा आएको छ । प्रदर्शनभन्दा अगावै लगानी सुरक्षित गरिसकेको चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटरमा बिहानी शोदेखि नै दर्शकको उल्लेख्य साथ पाएको छ । राजधानीका मल्टीप्लेक्सहरुमा त चलचित्रको टिकट नै अभाव छ ।

‘कबड्डी’को अघिल्ला तीन श्रृंखला वीरकाजी (दयाहाङ राई) को बिहेको दौडधुपमा घुमेको थियो । चौंथो श्रृंखलामा पनि यसैको निरन्तरता छ । तर, यसपटक वीरकाजीलाई बिहेप्रति खासै रुची छैन । के त्यसो भए वीरकाजीको बिहे हुँदैन त ? यो जान्नका लागि भने हलसम्म पुग्नै पर्ने हुन्छ । २ घन्टा १७ मिनेटसम्म हलमा बाँधिराख्ने पाटो नै यही हो । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।

निर्देशक रामबाबु गुरुङले चलचित्रभित्रको एक पात्रको कथालाई उठाउने मिल्ने गरी ‘कबड्डी ४’लाई बिट मारेका छन् । चलचित्रको अन्तिममा अब ‘मास्टर बमकाजी’ चलचित्रमार्फत् भेट्ने वाचा गरिएको छ । अर्थात् ‘कबड्डी’ सिरिजको महत्त्वपूर्ण पात्र बमकाजीमा केन्द्रित भएर उक्त चलचित्र बन्न लागेको हो । ‘कबड्डी’ सिरिजमा अभिनेता सौगात मल्लले बमकाजीको भूमिका निर्वाह गरेका छन् ।

चलचित्र ‘मास्टर बमकाजी’मा सौगातको मुख्य भूमिका रहनेछ । अभिनेता दयाहाङ राई भने यो चलचित्रमा नदेखिने जानकारी प्राप्त छ । तर, एउटा बिन्दूमा बमकाजी र वीरकाजीको भेट हुने बताइएको छ । निर्देशक गुरुङ यो चलचित्रलाई ‘कबड्डी’ जस्तै सिरिजको रुपमा अगाडि बढाउने योजनामा छन् । ‘मास्टर बमकाजी’का लागि सौगातबाहेब अरु कलाकारको टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu