अभिनेत्री दीया पुनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् । उनले शुक्रवार बिहान ८,८४८.८६ मिटर उचाईंको सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । सगरमाथामा दीयाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा चढेको हो । सगरमाथा आरोहणपछि उनीसहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।

बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले दीयाले सगरमाथाको आरोहण गरेकी हुन् । लामो समयदेखि परिवारसँग बेलायतमा बस्दै आएकी उनको सगरमाथा चढ्न करीब ४० लाख खर्च भएको छ । उनी बेलायतको एक अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् ।
दीयाले सगरमाथा चढ्नुअघि मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको आरोहण गरिसकेकी थिइन् । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘मिस्टर झोले’, ‘दयारानी’ लगायतका चलचित्रमा पनि अभिनय गरेकी छन् । दीया सगरमाथा चढ्ने तयारी गरिरहँदा उनी अभिनीत नयाँ चलचित्र ‘मन्त्र’ बैशाख १६ गते प्रदर्शन भएको थियो ।