शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’का दृश्यहरु दर्शकहरुले हलभित्रैबाट मोबाइलमा खिचेर टिकटकमा अपलोड गरेपछि निर्माण टिम तनावमा देखिएको छ । चलचित्रमा वीरकाजीको बिहे हुन्छ कि हुँदैन भन्ने चासो दर्शकहरुमा छ । दर्शकहरुलाई हलसम्म तान्ने अस्त्र नै यही हो । तर, यही पार्ट मोबाइलबाट खिचेर टिकटकमा अपलोड हुँदा चलचित्रको सस्पेन्स नै खुलेको छ ।
चलचित्रका दृश्यहरु थेगिनसक्नु गरी टिकटकमा अपलोड हुन थालेपछि अभिनेता दयाहाङ राईले यस्ता कार्य नगर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यसरी तपाईंहरुले सिनेमा हेरिरहँदा मोबाइलबाट भिडियो बनाउँदा तपाईंलाई पनि बाधा हुन सक्छ झनै तपाईंको नजिकको साथीलाई धेरै बाधा भइरहेको हुन्छ र हामीलाई पनि । त्यसैले सबैजना बिना बाधा सिनेमा हेर्नुहोस् ।’

त्यस्तै, निर्देशक तथा अभिनेता निश्चल बस्नेतले चलचित्रका दृश्य टिकटकमा हाल्दा चलचित्र हेर्न पर्खिरहेका अरु दर्शकको मज्जा खराब हुने र निर्मातालाई पनि घाटा हुने भएकाले यस्तो कार्य नगर्न अनुरोध गरेका छन् । हल सञ्चालक र वितरकहरुको संस्था नेपाल चलचित्र संघले पनि एक विज्ञप्ति जारी गर्दै चलचित्रका दृश्यहरु अनाधिकृत रुपमा सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।
चलचित्रका निर्देशक रामबाबु गुरुङ हलबाटै खिचेर चलचित्रका दृश्यहरु सामाजिक सञ्जालमा अपलोड हुनुलाई हल सञ्चालकहरुको कमजोरी मान्छन् । हलमा दर्शकले चलचित्र नै खिचेर बसेको निगरानी नगर्नु हल व्यवस्थापकको कमजोरी रहेको उनको भनाई छ । यसबारेमा आफूहरुले देशभरका हलहरुलाई मेल पठाएको बताउँदै उनले दर्शकहरुलाई पनि संयमित हुन आग्रह गरेका छन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।