शुक्रवारबाट प्रदर्शनमा उत्रिएको चलचित्र ‘कबड्डी ४’ले नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ गरेको छ । शुक्रवार र शनिवार मल्टीप्लेक्स र सिंगल थिएटर सबैतिर हाउसफुलको व्यापार गरेको चलचित्रले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक मनोज राठीले जानकारी दिए । काठमाडौं र मोफसलमा चलचित्रको व्यापार लगभग बराबरी नै रहेको उनको भनाई छ ।
‘कबड्डी ४’ले प्रदर्शनको पहिलो हप्तामा १० करोडको आँकडा पार गर्ने वितरक राठीको आँकलन छ । माउथ पब्लिसिटी बलियो भएकाले आइतवार पनि देशभर चलचित्र हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको उनले बताए । ब्रान्ड चलचित्रको सिरिज, बलियो स्टारकास्ट, गतिलो प्रचार, ट्रेलर र गीतले बढाएको हाइपले गर्दा चलचित्रले इनिसियल व्यापारमा रेकर्ड बनाएको उनको भनाई छ ।

नेपाली चलचित्रको इतिहासमा कमाई गर्ने कमाउने चलचित्रको रेकर्ड दीपकराज-दीपा समुहको ‘छक्का पञ्जा’ सिरिजले बनाएको छ । यसका तीनवटै सिरिजको लाइफटाइम कलेक्सन १६ करोड आसपास छ । अब यो रेकर्ड तोड्नु पर्ने चुनौती ‘कबड्डी ४’माथि छ । दुई दिनको इनिसियल व्यापार हेर्दा चलचित्रलाई ‘छक्का पञ्जा’ सिरिजको रेकर्ड तोड्नका लागि दुई हप्ता नै काफी हुने देखिन्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो ‘कबड्डी’को अन्तिम सिरिज हो ।