सुरु भयो ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’



आइतबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘१०औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । महोत्सवमा नेपालसहित १५ देशका २६ चलचित्रहरु सहभागी छन् । जसमध्ये नेपालबाट १२ वटा र विदेशबाट १४ वटा रहेका छन् । यो महोत्सव मंगलबारसम्म नाचघरमा जारी रहनेछ । महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अफ्रिका जस्तै देशबाट चलचित्र संकलन गरेर नेपालमा महोत्सव गर्नु सराहनीय कार्य रहेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सव संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान-प्रदानकै लागि विगत एक दशकदेखि महोत्सव आयोजना गर्दै आएको बताइन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न गाह्रो हुन थालेको बताउँदै उनले राज्यबाट महोत्सवका लागि कुनै खालको सहयोग नमिलेको गुनासो पोखिन् ।

यस्तै, प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको संस्कृति आदान-प्रदानको लागि यो महोत्सव उपयोगी हुने धारणा व्यक्त गरिन् । यसप्रकारका महोत्सवलाई सघाउन आफूले संसदमा आवाज उठाउने पनि उनले प्रतिबद्धता जनाएकी छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले निजी स्तरबाट भएका अन्तर्राष्ट्रियस्तरका चलचित्र महोत्सवलाई राज्यले सहयोग गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा पत्रकार जिवन पराजुलीले महोत्सवमा चयन भएका चलचित्रबारे चर्चा गरे । यस्तै, अभिनेता धिरेन शाक्यले महोत्सवमा निकै राम्रा र फरक सिनेमा आएको बताए । महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सवमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा फिल्म, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा तीन दशकभन्दा लामो समयसम्म योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान पनि गरियो । समारोहमा आलोक तिवारी र ओम प्रकाश घिमिरे ‘पत्रकारिता सम्मान’बाट सम्मानित भए भने गायक अलिप खान, गायिका सुजता केसी, निर्देशक कल्याण अधिकारी ‘कलाकारिता सम्मान’बाट सम्मानित भए ।

त्यस्तै, सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट ‘राष्ट्रिय सम्मानबाट सम्मानित भए । ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापा मगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान ‘सौन्दर्यकर्मी राष्ट्रिय सम्मान’ बाट सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu