चलचित्र ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा तामाङ धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छोड्न आदेश दिएपछि प्रहरीले तीन हजार धरौटी बुझेर तामाङलाई रिहा गरेको हो ।

आइतवार काठमाडौंको सिभिल मलमा तामाङले पिठ्यूमा गलत नियतले छोएको भन्दै मिरुनाले थप्पड हानेकी थिइन् । त्यहीँ तामाङले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी समेत मागेका थिए । तर, पछि मिरुनाले तामाङलाई प्रहरीको जिम्मा लगाइन् । आइतवारदेखि उनी प्रहरी हिरासतमा थिए ।
मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा बाहिर आएपछि बौद्ध धर्मालम्बीहरुले मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि ‘कबड्डी ४’को पोस्टर जलाउँदै प्रदर्शन गरे । मिरुनाले सार्वजनिक रुपमा फुर्वासँग माफी माग्नुपर्ने माग गर्दै तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा पनि प्रदर्शन गरेका छन् ।